09th September 2020

चलचित्र निर्देशक छेतन गुरुङको निधन ।

भाद्र,२४,२०७७ ।चलचित्र निर्देशक छेतन गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ । काठमाडौ महाराजगंजस्थित मेट्रो अस्पतालमा यही भदौ २४ गते बुधबार बिहान २ बजे उनको निधन भएको निर्माता , निर्देशक उनका सहकर्मी सन्तोष सेनले जानकारी दिएका छन् । लिभरमा समस्या देखिएपछि दुई दिन अघि उनलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा नै उनको निधन भएको हो । विग बजेटको मल्टि स्टारर चलचित्र हुतुतु को स्क्रिप्ट लेखनमा ब्यस्त रहेका छेतन सन्तोष सेनसँगको सयुक्त निर्देशनमा छिट्टै उत्त चलचित्रको छायांकनको लागि फ्लोरमा जाने तयारीमा थिए । यसअघि दुवैको निर्देशनमा निर्माण भएको चलचित्र प्रेमगीत ३ प्रदर्शनमा आउन बाँकी छ । लकडाउनको कारण यो चलचित्र प्रदर्शनमा आउन नसकेपछि उनीहरु केही महिनायता चलचित्र हुतुतु को तयारीमा थिए । नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३ जस्ता सफल चलचित्रको लेखन गरेका छेतन चलचित्र डम्बरुको डण्डीवियो बाट निर्देशनमा आएका हुन् । चलचित्र नोभेम्बर रेनको कथा पटकथा र संवाद लेखेर चलचित्र क्षेत्रमा प्रवेश गरेका छेतनले पहिलो चलचित्रबाटै उत्कृष्ट लेखनको अवार्ड पाएका थिए । पहिलो निर्देशित चलचित्र डमरुको डण्डीवियो बाट उनले कामना अवार्डमा नव–निर्देशकको अवार्ड जित्न सफल भएका थिए । नेपाली चलचित्रका बहु प्रतिभाका धनी छेतन गुरुङको अल्पायु मै भएको निधनले यस क्षेत्रलाई ठुलो घाटा भएको छ । स्वर्गिय गुरुङप्रति हार्दिक श्रदाञ्जली ।