01st March 2020

नायक अनमोल के,सी लाई लाग्यो ठगीको आरोप प्रहरीमा उजुरी।

फाल्गुन,१८,२०७६ ।नेपाली चलचित्रका स्टार अभिनेता के,सी विरुद्ध ठगीको अरोपमा प्रहरीमा उजुरी परेको छ । समाचार स्रोतका अनुसार अभिनेता अनमोलले चलचित्र ‘धुपौरे’ मा अभिनय गर्न ५ लाख रुपैयाँ एडभान्स लिएर पनि चलचित्रका लागि समय नदिएको भन्दै चलचित्रका निर्माता द्वय जयन श्रेष्ठ र रुपेश खड्गीले अनमोल विरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको बताइएको छ।साथै महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले अनमोलविरुद्ध उजुरी परेको पुष्टि गरेको पनि बताइएको छ । अनमोलले गत असोज ३ गते ४० लाख पारिश्रमिक लिने गरी ‘धुपौरे’ मा अभिनय गर्ने सम्झौता गरेको उजुरीमा उल्लेख छ । सम्झौता अनुसार ५ लाख अग्रिम भुक्तानी गरेपनि केसीले फिल्म नखेलेर ठगी गरेको निर्माता द्वय श्रेष्ठ र खड्गीले दिएको उजुरीमा उल्लेख गरिएको  स्रोतले बताएको छ । निर्माता द्वय श्रेष्ठ र खड्गीले प्रहरीमा दिएको उजुरीमा अनमोलले चलचित्रमा अभिनय गर्नका लागी तीन महिनासम्म जिम तथा एक्टिङ क्लासका लागि भन्दै निर्माण टिम सँग थप २ लाख ५० हजार लिएको र चलचित्रका लागि तय भएका अन्य कलाकार तथा टेक्नेसियनलाई अग्रिम रकम ३० लाख दिन लगाइ अनमोल सम्पर्कमा नआएर आफूहरुलाई आर्थिक रुपमा क्षति पुर्यासएको बताइएको  छ ।यसको साथ साथै श्रेष्ठ र खड्गीले दिएको उजुरीमा अनमोलका कारण भएको नोक्सानीको बिगो तथा कानुन बमोजिम क्षतिपूर्ति दिलाइदिन माग गरिएको छ ।निर्देशक साम्तेन भुटियाको निर्देशनमा बन्न लागेको चलचित्रका लागि अनमोल लोकेशन खोज्न निर्देशकसँगै विभिन्न ठाउँमा पुगेका थिए ।अनमोलले चलचित्र ‘धुपौरे’ छाड्नुमा स्क्रिप्टमा आएको परिवर्तन र निर्माण टिमले छायांकनमा जान देखाएको हतारोलाई मानिएको पनि स्रोतले बताएको छ । ठगीको अरोपमा प्रहरीमा उजुरी परेका अभिनेता अनमोल केसीले गत शुक्रवारबाट नायिका तथा निर्देशक झरना थापाको चलचित्र‘ए मेरो हजुर ४’ को छायांकनका लागि पोखरा प्रस्थान गरिसकेको पनि बताइएको छ ।साथै उनीविरुद्ध ठगीको आरोपमा प्रहरीमा उजुरी परेपछि चलचित्र‘ए मेरो हजुर ४’ को छायांकनमा अवरोध पुग्नसक्ने देखिएको पनि बताइएको छ । प्रहरीले छलफलका लागि दुवै पक्षलाई बोलाउने तयारी गरेको बुझिएको छ ।